• ६ असोज २०८३, मंगलबार
  • १ः४१ राती

अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्नेः राष्ट्र बैङ्कको सर्वेक्षण

प्रकाशित मिति

२०७७ श्रावण २२ गते, बिहीबार ०६:४३

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो ।

National Life

सर्वेक्षणका सहभागी उद्योग-व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । त्यसैगरी ८२.३ प्रतिशत उद्योग-व्यवसायीले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भए पनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेकोसमेत देखिएको छ ।

बन्दाबन्दी अवधिमा उद्योग-व्यवसायको उत्पादन ठप्प हुँदा परेको असर कर्मचारी कटौतीसम्म पुगेको केन्द्रीय बैङ्कले स्पष्ट पारेको छ । केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२.५ प्रतिशत कर्मचारी-कामदार कटौती गरेको पाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कटौती भएकामध्ये अस्थायीकरारका कामदार दुई तिहाइभन्दा धेरै छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी-कामदार कटौती गरेको देखिएको छ ।

ठूलाकै बढी तलब कटौती
बन्दाबन्दीको अवधिमा घरेलु उद्योग र लघु उद्यम-साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारी-कामदार कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग-व्यवसायीले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेका छन् भने तलब कटौती गर्नेमा होटल तथा रेस्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् ।

यस्तै ठूला उद्योग-व्यवसायीले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको छ ।
अध्ययनले बन्दाबन्दीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव आकलन गर्ने, उद्योग-व्यवसायीको पुँजी संरचना पहिचान गर्ने र बन्दाबन्दीपछि उद्योग-व्यवसायको सञ्चालन तथा वित्तीय योजना पहिचान गर्ने मुख्य उद्देश्य लिएको छ ।

गत चैत ११ देखि सुरु भएको बन्दाबन्दी २०७७ असार १ देखि खुकुलो गरिए पनि आर्थिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । यता आर्थिक वर्ष २०७६-७७ मा करिब २.२८ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।
कोभिड–१९ प्रभावका कारण रोजगारीका अवसर पनि प्रभावित भएको छ ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसलाई सम्बोधन गर्न अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे नियमित अध्ययन गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ । यसै क्रममा बन्दाबन्दीको प्रभावबारे प्राथमिक तथ्याङ्कमा आधारित रही सूक्ष्म अध्ययन गर्न सान्दर्भिक देखिएकाले यो सर्वेक्षण गरिएको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा लेखिएको छ ।

प्रतिकृया