नेपालमा चट्याङको उच्च जोखिम, वर्षेनी सय जनाभन्दा बढीको मृत्यु (सुचीसहित)
प्रकाशित मिति
२०७७ बैशाख २२ गते, सोमबार ०५:४३
काठमाडौं । नेपालमा प्राकृतिक प्रकोप ठूलो चुनौती छ । बेग्लाबेग्लै प्राकृतिक प्रकोपमा ज्यान गुमाउने नेपालीको संख्या पनि वर्षेनी बढ्दो छ ।
अहिले प्रिमनसुन सुरु भएको छ । प्रिमनसुनसँगै सुरु हुने प्राकृतिकक घटना हो चट्याङ । मनसुनमा बाढी पहिरोबाट हुने घटना छँदैछ ।
गृहमन्त्रालयको तथ्याङ अनुसार चट्याङबाट नेपालमा हरेक वर्ष अन्य प्राकृतिक घटनामा भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, यस वर्ष वैशाख लागेयतामात्र देशका विभिन्न स्थानमा चट्याङ लागेर ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
वैशाख २ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–६, तिखाधारका सात वर्षीया लक्ष्मी खातीको चट्याङ लागेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार, घटनामा अन्य पाँच जना घाइते भए ।
वैशाख ३ गते मकवानपुरको राक्सिराङ गाउँपालिका–७, धिराङमा चट्याङले ४१ वर्षीय चैत्र प्रजाको मृत्यु भयो । त्यही वडामा तीन जना घाइते भए ।
वैशाख ८ गते पर्वतको फलेवास नगरपालिकाको टारीकी २८ वर्षीया कल्पना भुसालको र ९ गते धादिङको थाक्रे गाउँपालिकामा २ जनाको मृत्यु भयो । थाक्रेमा ७ जना घाइते भए । सोही दिन डोटीको सायल गाउँपालिका–३, तोलेनीमा २२ वर्षीया उजली बयाडी मृत्यु भयो ।
वैशाख १० गते बाग्लुङको गलकोट नगरपालिका–१, दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको ज्यान गयो । वैशाख १४ गते अछामको मेल्लेख गाउँपालिका–३, ठाँटी बगुडामा २५ वर्षीया अनिता शाहको मृत्यु भयो । यही घटनामा दुई जना घाइते भए ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, चट्याङले बर्सेनि एक सय जनाभन्दा बढीको ज्यान लिने गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चट्याङ बाढी–पहिरोले भन्दा धेरैको ज्यान लिने प्राकृतिक विपद् हो । केन्द्रले तयार पारेको पछिल्लो ९ वर्षको तथ्याङ्कअनुसार चट्याङले १ हजार ४२ जनाको मृत्यु भएको छ, २ हजार ५६ जना घाइते भएका छन् । शेष सावधानी अपनाउनुपर्छ । त्यस्तो बेलामा अग्लो र एक्लो रुखमा नजिक बस्नु हुँदैन ।
पानी भएको ठाउँमा पनि जानु हुँदैन । गड्याङगुडुङ गर्न थालेपछि पौडी खेल्ने, माछा मार्ने र र्याफ्टिङ गर्ने जस्ता काम बन्द गर्नुपर्छ ।
घरभित्र हुँदा पनि चट्याङबाट हुने क्षति कम गर्न सावधानी अपनाउनुपर्छ । घरभित्रका विद्युतीय उपकरण टिभी, कम्प्युटर, फ्रिज प्रयोग गर्नुहुँदैन ।
टेलिफोन तथा मोबाइलको प्रयोग नगर्नु, घरबाट बाहिर ननिस्कनु र धारामा नहाउनु सावधानिका उपायहरू हुन् । नुहाउनै पर्ने भए बाल्टिनको पानीले नुहाउनु पर्छ ।
लुगाधुने तथा भाँडा माझ्ने काम नगर्नु, झ्यालढोका बन्द गर्नु र घरको भित्ताभन्दा अलिक पर बस्नु पनि साधवधानीका उपायहरू हुन् । घरमा विद्युतीय तार, टेलिभिजनको केबल तथा एन्टेना जडान गरिएका उपकरणबाट छुट्याउनु पर्छ । कुनै पनि विद्युतीय उपकरण प्रयोग गर्नुहुँदैन ।
मौसमविद् राजुधर प्रधानाङ्गका अनुसार, चट्याङ एक प्राकृतिक प्रकोप हो । साधवधानीका लागि घरबाहिर खुला मैदानमा नबस्ने, मैदानमा लमतन्न परेर नसुत्ने र नखेल्ने, मानिसको समूह, मेला, हाटबजार या महोत्सवमा नबस्नेजस्ता सावधानी अपनाउनु पर्छ । फूटबल, क्रिकेट, गल्फ जस्ता खेल भइरहेको छ भने तत्काल बन्द गनुपर्ने बताए । गाइबस्तुलाई सुरक्षित स्थानतर्फ लैजानु पर्छ ।
धातु तथा करेन्ट प्रवाह हुने वस्तुबाट टाढा बस्नुपर्छ । जंगलमा भएको बेला त्यहाँ रहेका स–साना रुखको बीचमा बस्नु हुँदैन । पक्की घर या गाडीमा भएको बेला पनि झ्याल ढोका बन्द गरेर बस्नुपर्छ ।







प्रतिकृया