विदेशबाट फर्किएका ‘थ्रोट स्वाब’ नमूना सङ्कलन सम्पन्न
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०३:४२
ललितपुर, महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर सेल्फ क्वारेन्टाइनमा बसेका मानिसको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन कार्य सम्पन्न गरिएको छ । कोरोना भाइरस परीक्षणका लागि क्वारेन्टाइनमा बसेकाहरुबाट ‘थ्रोट स्वाब’ नमूना लिइएको महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ ज्यूले जानकारी दिनुभयो । ७० जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको उहाँले बताउनु भयो ।
लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीबाट नमूना संकलन गरी पीसीआर मेसिनबाट परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
राहत सहयोग जारी
महालक्ष्मी नगरपालिकाले सुरु गरेको राहत संकलन अभियानमा सहयोग गर्नेक्रम जारी रहेको छ । नेपाल रेडक्रस सोसाइटी ललितपुरले महालक्ष्मीलाई ५० थान कम्बल सहयोग गरेको छ । नगरपालिकामा कोरोना भाइरसविरुद्ध लड्ने क्वारेन्टाइन व्यवस्थापनका लागि सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले शुक्रबार नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूलाई दुई थान पाल, ५० थान कम्बल र दुई थान स्ट्रेचर प्रदान गर्नुभएको छ ।
उपराष्ट्रपतिका निजी चिकित्सक शिवजी सिलवालले एक महिना बराबरको तलब हस्तान्तरण गरेका छन् ।
यसैगरी महालक्ष्मी सहयोग समितिले २५ केजीका ४० बोरा चामल हस्तान्तरण गरेको छ । शरद खनालबाट १० हजार रुपैयाँ र सोचान फमास्युटिकल्सबाट २५ केजीका १८ बोरा चामल, २५ केजी दाल र २५ केजी चना हस्तान्तरण भएको छ ।
नगरपालिकामा यसअघि २१ ग्रुप प्रोपर्टी डिलर्सका अध्यक्ष राज केसीसहित निर्देशक बोर्डका सदस्यहरु राष्ट्रिय कलाकार किरण केसी, कमलेश महर्जन, देवेन्द्रमान सिंह, शशी खड्का, विष्णु न्यौपाने, राम केसी, रामकुमार के सी, सुरेन्द्र के सी र श्री सहदेव राउतले सामूहिकरुपमा १० हजार थान मास्क र ३० केजीका १ सय बोरा चामल सहयोग गरेका थिए ।
सामाजिक दूरी कायम राख्दै राहत वितरण सुरु
महालक्ष्मी नगरपालिकाले १० वटै वडामार्फत राहत वितरणलाई जारी राखेको छ । मेयर रामेश्वर श्रेष्ठका अनुसार हरेक वडामा ४ देखि ८ राहत वितरण केन्द्र तोकी राहत वितरण सुरु भएको हो । सामाजिक दूरीको ख्याल गर्दै एक अर्का राहत लिने व्यक्तिलाई सँगसँगै नभेट्ने व्यवस्था मिलाउँदै राहत वितरण सुरु गरिएको छ।






प्रतिकृया