• २७ भदौ २०८३, शनिबार
  • १०ः५० बिहान

सहिद दिवस सप्ताहव्यापी रुपमा मनाउने काठमाडौं महानगरको तयारी

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०५:०६

सहिदहरुले पुर्याउने भएको योगदानको गाथा मनन हुने कार्यक्रममा जोड दिऔं : महानगर प्रमुख शाक्य

National Life

काठमाडौं, काठमाडौं महानगरपालिकाले यहीँ माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रमको आयोजन गरेको छ । आज महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो ।

कार्यक्रम माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । कार्यक्रमको अन्तिम दिन (माघ १६ गते) शान्तिबाटिका भेला भएर सुरक्षा निकायको व्याण्ड र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।

बैठकमा सहिद सप्ताहका कार्यक्रमका बारेमा जानकारी दिँदै महानगरका प्रमुख तथा संयोजक शाक्यले प्रशासन बिभागलाई निर्देशन दिँदै भन्नुभयो, ‘बिगतमा सहिद परिवारलाई महानगरले प्रदान गर्ने गरेको सहयोगलाई निरन्तरता दिने प्रबन्ध मिलाउनु । प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा सहादत हुनु भएका सहिदहरुले प्राणदण्ड पाउनुभएको ठाउँमा पूर्ण कदको प्रतिमा राख्ने हामीले निर्णय गरिसकेका छौं । यस बर्ष ती प्रतिमाहरु प्रतिस्थापन हुनेछन् ।’ उहाँले थप्दै भन्नुभयो ‘सहिद धर्मभक्त माथेमाको स्मृतिमा वडा २३ ओमबहालमा पार्कको शुभारम्भ हुनेछ भने सहिद गंगालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गंगालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरिनेछ । सहिद धर्मभक्तका नाममा ‘सहिद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने हामीले निर्णय गरिसकेका छौं । बुढानिलकण्ठमा यसका लागि प्रक्रिया शुरु भइसकेको छ ।’

सहिद दिवसका कार्यक्रमलाई परम्परा धान्नका लागि मात्र नभइ यसको महत्व झल्काउनुपर्छ, बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको भनाइ थियो । बैठकमा महानगरका सहसचिव राजेश्वर ज्ञवालीलले कार्यक्रमको सन्देश युवा पुस्ताका लागि मनन योग्य हुनुपर्ने बताउनुभयो ।

बैठकमा वडा ७ (१९९७ माघ १३ गते धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको वडा)का अध्यक्ष शुद्धकुमार डंगोल, वडा १२ (१९९७ माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको वडा)का अध्यक्ष बिकास डंगोल, वडा १५ (१९९७ माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको वडा)का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल र वडा २६ (ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा स्मारक स्थापना गरिएको वडा)का अध्यक्ष ख्यामराज तिवारीले स्थानीय जनसहभागितामा श्रद्धाञ्जली सभालाई भव्यताका साथ मनाउने तयारी गरिएको बताउनुभयो ।

बैठकले सरसफाइको जिम्मेबारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रंगरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार बिकास बिभागलाई दिइएको छ । कार्यक्रम स्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।

मुल समारोह समितिको सदस्यहरुमा उपप्र्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, ४ सहिदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्षहरु (वडा नं. ७, १२, १५ र २६) हुनुहुन्छ । त्यस्तै बिभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, शशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । वि. सं. २०१२ सालदेखि काठमाडौं नगरको संयोजकत्वमा सहिद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रतिकृया