पूर्वसभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता
प्रकाशित मिति
२०७६ कार्तिक १५ गते, शुक्रबार ०९:४३
काठमाडौं, यौन हिंसाको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योग दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध करणी उद्योग गरेको पुष्टि भएको भन्दै मुद्दा दर्ता गरेको हो।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराबाट आफू यौन हिंसामा परेको आरोप लगाएपछि महरालाई गत असोज १९ गते पक्राउ गरिएको थियो। प्रहरीले २० दिन अनुसन्धान सकेर गत शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो। तिहार बिदापछि उक्त कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगमा कैद मागदाबीसहित अभियोग दर्ता गरेको उक्त कार्यालयका सूचना अधिकारी नुमराज खनालले जानकारी दिनुभयो।
‘प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा अभियोजन गर्ने निर्णय भएअनुसार मुद्दा दर्ता भएको हो। यसमा सोहीअनुसार कैद मागदाबी गरिएको छ’, उहाँले पुष्टि गर्दै भन्नुभयो। मुलुकी फौजदारी संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा ३ (ङ) बमोजिम बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको छ।
उक्त संहिताको दफा २ सय १९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद हुने र उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था छ ।नेपाल समाचार पत्रबाट साभार






प्रतिकृया