नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार ११:०२
५ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा प्राविधिक समस्या देखिएपछि आजको शेयर कारोबार प्रभावित भएको छ । प्रणालीमा समस्या आएपछि नियमित कारोबार सुरु हुन सकेको छैन ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक समस्या पहिचान गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको छ । प्रिओपनिङ कारोबारसमेत हुन सकेको छैन ।
प्राविधिक समस्या देखिएपछि आजको नियमित कारोबार के हुने भन्ने विषयमा अन्योल सिर्जना भएको छ । नेप्सेले समस्या समाधान तथा कारोबार सञ्चालनबारे थप जानकारी दिने जनाएको छ ।
नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएको यो पहिलोपटक भने होइन । पटक–पटक प्रणालीमा समस्या आउँदा लगानीकर्ता तथा बजारका अन्य सरोकारवालाले दीर्घकालीन रूपमा समस्या समाधान गर्न माग गर्दै आएका छन् ।
शेयर बजार सञ्चालनका लागि महत्वपूर्ण मानिने नेप्सेको प्रविधि तथा पूर्वाधारमा सुधारको आवश्यकता रहेको भन्दै यसअघि पनि प्रश्न उठ्दै आएको छ । सरकार तथा सम्बन्धित निकायले नेप्सेको पुनर्संरचना र प्रणाली सुधारका विषय उठाउँदै आए पनि व्यवहारमा अपेक्षित सुधार हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।






प्रतिकृया