• २८ भदौ २०८३, आइतबार
  • ११ः०८ बिहान

कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन

प्रकाशित मिति

२०८३ भाद्र २८ गते, आईतवार ११:०८

२८ भदौ २०८३ काठमाडौं — मुस्ताङको कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने मालवस्तुको आयात कोरलानाकाबाट बढेको हो।

National Life

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढ्दो क्रममा रहेको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको छ।

शुक्रबार ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ। रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट ४३४ कन्टेनर र ६४१ ईभी नेपाल भित्रिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै भित्रिएका कन्टेनर तथा ईभीको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत चुडालले बताए।

भदौ ९ गतेसम्म भने कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ ईभी नेपाल भित्रिएका थिए।

यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला रहेको कोरलानाका तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरेको थियो।

गत आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारी कारोबारबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरका मालवस्तुको कारोबार भएको थियो।

गत वर्ष कोरलानाका हुँदै ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो।

प्रतिकृया