• १८ भदौ २०८३, बिहीबार
  • १ः०४ दिउँसो

बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार १२:५१

१८ भदौ २०८३ काठमाडौं —  नेपाली कांग्रेसका सभापति गगन थापाले बाढी तथा पहिरोबाट अति प्रभावित नुवाकोट र रसुवाका विभिन्न गाउँको स्थलगत भ्रमण गरी पीडितहरूको अवस्थाबारे जानकारी लिएका छन्। भ्रमणपछि भिडियो सन्देश जारी गर्दै थापाले विपद्को यस घडीमा सरकारको नेतृत्वदायी भूमिका र समाजको सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

भ्रमणका क्रममा भेटिएका एक अनाथ बालकको अवस्था सुनाउँदै थापाले भावुक घटना सार्वजनिक गरेका छन्। उनका अनुसार ती बालकले ‘बाटो कहिले बन्छ?’ भनेर सोधिरहेका थिए। बाटो बिग्रिएका कारण आमा–बाबु आउन नसकेको र बाटो बनेपछि आउने भन्दै सम्झाइएको भए पनि उनका आमा–बाबु र हजुरआमा सबै बाढीमा परी बितिसकेको थापाले बताए।

Kamana Sewa

देवीघाट र सेरखानीका स्थानीयले सुरुङमा आफन्तहरू थुनिएको तथा जताततै शवको गन्ध आइरहेको भन्दै उद्धारका लागि गरेको आग्रहले आफूहरू स्तब्ध भएको पनि थापाले बताए। कतिपयले घर, जायजेथा र व्यवसाय सबै गुमाएर विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेको उनले उल्लेख गरे।

Classic Tech Mobile

थापाले सीमित स्रोतसाधनका बाबजुद स्थानीय जनप्रतिनिधिले रातदिन खटेर उद्धार तथा व्यवस्थापनमा गरेको कामको प्रशंसा गरे। साथै, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा र सांसदहरूले झोलुङ्गे पुल निर्माण, खानेपानी तथा अस्थायी विद्यालय व्यवस्थापनमा देखाएको सक्रियताको पनि उनले चर्चा गरे।

राहतमा चामल र दाल मात्र पर्याप्त नहुने भन्दै थापाले प्रभावित क्षेत्रमा शौचालय, औषधि, व्यक्तिगत सरसफाइका सामग्री, बालबालिकाको मानसिक स्वास्थ्य तथा अस्थायी कक्षाकोठा तत्काल आवश्यक रहेको बताए।

उनले संघीय सरकारलाई तीनै तहका सरकारबीच समन्वय गर्दै नेतृत्व लिन आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा कुन सामग्री आवश्यक छ भन्ने स्पष्ट जानकारीका लागि पोर्टल निर्माण गरी आवश्यकताअनुसार राहत पठाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

प्रतिकृया