• १६ भदौ २०८३, बुधबार
  • २:१२ बेलुका

नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ०१:१२

काठमाडौं ।हालै सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमले टुजी र फोरजी प्रविधिको मोबाइल सेवाका साथै सुरुङमार्ग बाहिरको क्षेत्रमा अन्य सेवाहरु समेत उपलब्ध गराएको छ। नेपाल टेलिकमले सुरुङमार्गभित्र र बाहिर मोबाइल कभरेज तथा सो क्षेत्रका कार्यालयहरुमा टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध गराएको छ।

सुरुङमार्ग भित्र र बाहिर सबै सेवाग्राहीका लागि टुजी र फोरजी मोबाइल सेवाको कभरेज छ। त्यसैगरी कार्यालय सञ्चालनको लागि कम्पनीले टेलिफोन, एफटीटीएच र लिज लाइन उपलब्ध गराएको जानकारी दिएको छ।

Kamana Sewa

यी सबै कार्यका लागि सुरुङमार्गको पूर्वी भाग अर्थात काठमाडौंतिर र पश्चिम भाग अर्थात धादिङतिर दुवै स्थानमा नेपाल टेलिकमले आवश्यक बीटीएस राखेको छ। यी बीटीएसले नै सुरुङमार्गभित्र आवश्यक नेटवर्क उपलब्ध गराएका छन्। कार्यालयहरुका लागि आवश्यक बीटीएस भने कार्यालयका भवनहरुमा राखिएको छ।

Classic Tech Mobile

यी सम्पूर्ण सिस्टमको कनेक्टिभिटीका लागि अप्टिकल फाइबर प्रयोग गरिएको छ। काठमाडौं र धादिङ दुवैतिरबाट अप्टिकल फाइबरलाई लिंक गरिएको छ। यसरी वैकल्पिक नेटवर्क लिंक प्रयोग गरिएको कारण कथंकदाचित एकतिरको लिंकमा समस्या आए पनि अर्कोतिरको लिंकले आवश्यक कार्य गर्छ र नेटवर्क अवरुद्ध हुन पाउँदैन्।

नेपाल टेलिकमले उपलब्ध गराएको यस प्रकारको नेटवर्कबाट सेवाग्राहीहरु लाभान्वित हुने र सुरुङमार्गमा गाडी रोकिएमा वा अन्य आपतकालीन अवस्थामा नेपाल टेलिकमको नेटवर्क प्रयोग गरी आवश्यक सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया