• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

अब संघीय कर्मचारीले महिनामा दुईपटक तलब पाउने

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार १२:१५

२ भदौ २०८३ काठमाडौं – सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५/१५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्थाबारे जानकारी गराएको हो।

National Life

अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन।

महालेखा नियन्त्रक कार्यालयले सोमबार निर्णय गर्दै प्रत्येक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका संघीय निकायबाट उक्त व्यवस्थाअनुसार तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भए आवश्यक व्यवस्था मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले अर्धमासिक तलब भुक्तानी कार्यक्रमको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा विस्तार गर्ने घोषणा गरिए पनि प्रणाली विकासलगायतका कारण कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो।

प्रतिकृया