कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार ११:५१
२७ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ। खड्का निवास गल्फुटारमा भएको भेटवार्तामा आगामी शुक्रबार काठमाडौंको सुकेधारामा आयोजना हुने राष्ट्रिय भेलाका विषयमा छलफल भएको हो।
कांग्रेसको इतर समूहले पूर्वमहामन्त्री कोइरालालाई राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। भेलाको तयारी र सहभागिताका विषयमा छलफल गर्न कोइराला खड्का निवास पुगेका थिए। भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए। भेटका क्रममा कोइरालाले पूर्वउपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका थिए।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार खड्काले कोइरालाको आग्रहप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। पछिल्लो समय पूर्वउपसभापति खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि उनको भूमिकालाई लिएर कांग्रेसभित्र विभिन्न अड्कलबाजी हुँदै आएको थियो। पछिल्लो भेटवार्तालाई भने राष्ट्रिय भेलामा खड्काको सहभागिता सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ।





प्रतिकृया