सडक दुर्घटना घटाउन सडक सुरक्षा र गुणस्तर सुधार गर्नुपर्नेमा अञ्जन श्रेष्ठको जोड
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०३:४९
२६ साउन २०८३ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा, सडकको गुणस्तर र ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले दुर्घटना हुँदा सवारी साधन र चालकलाई मात्र दोष दिने प्रवृत्ति गलत भएको बताए। दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था, ट्राफिक व्यवस्थापनलगायत सडक सुरक्षाका अन्य पक्षमा पनि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।
श्रेष्ठले करिब ७ हजार ट्राफिक प्रहरीमार्फत देशभरको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भन्दै बढ्दो सवारी चापअनुसार ट्राफिक व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको बताए। सडकको गुणस्तर सुधार नगरी सडक सुरक्षाको समस्या समाधान गर्न नसकिने उनले उल्लेख गरे।
उनले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्दै आएको भन्दै यस क्षेत्रको आर्थिक योगदानलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
यातायातका साधनको दर्ता रोक्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले दर्ता रोक्नुको सट्टा सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने धारणा राखे। उनले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्न सरकारलाई आग्रह गरे।








प्रतिकृया