मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि अविस्मरणीय : माधव नेपाल
प्रकाशित मिति
२०८३ जेष्ठ ३ गते, आईतवार १०:२४
३ जेठ २०८३ काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले दुवै नेताको रहस्यमय निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा सिद्धान्तकारका रूपमा स्मरण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गरेका छन् । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ । साथै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पनि उनले स्मरण गरेका छन् ।
सन्देशमा उनले वर्तमान राजनीतिक चुनौतीबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादविरुद्ध संघर्ष जारी रहने बताएका छन् । उनले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन् ।








प्रतिकृया