बलात्कारपछि सुर्खेतकी १६ वर्षीया इनिशा विकको हत्या: देशभर विरोध प्रदर्शन, न्यायको माग
प्रकाशित मिति
२०८२ फाल्गुन २७ गते, बुधबार ०२:२७
२७ फाल्गुन,२०८२ काठमाडौं- सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएपछि देशभरै विरोध प्रदर्शन बढेको छ। आज माइतीघर मण्डलामा पीडितको न्यायका लागि प्रदर्शन भएको छ भने सुर्खेतमा पनि युवाहरू सडकमा उत्रेका छन्।
देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्या घटनाको विरोध गर्दै युवाहरू र दलित अधिकारकर्मीहरूले भेला भई दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेको हिंसा अन्त्य गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ जस्ता नारा लगाउँदै न्यायको माग गरेका थिए। उनीहरूले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलनसमेत गरेका छन्।
सामाजिक सञ्जालमा पनि इनिशा विकको हत्यामा दोषीलाई कारबाही गर्न माग गर्दै आवाज उठ्न थालेको छ।
गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी इनिशा विक गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ बस्दै आएकी थिइन्। उनी सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी र अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो। उनको शरीरमा नील डाम र रगताम्य चोटको निशान थियो। हालसम्म प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।








प्रतिकृया