एनपीएलमा आज दुई रोमाञ्चक खेल : जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०९:३३
मंसिर १६, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल जनकपुर बोल्ट्स र चितवन राइनोजबीच बिहान ११:४५ बजे सुरु हुनेछ। जारी लिगमा जनकपुर बोल्ट्सले अझैसम्म कुनै पनि खेल जित्न सकेको छैन। टोलीले खेलेका चारै खेलमा हार बेहोरेको छ। विपरीत, चितवन राइनोजले ४ खेलमा २ जित र २ हार दर्ता गर्दै ४ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ।
अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा राष्ट्रिय टोलीका खेलाडी आसिफ सेख, ललित राजबंशीसँगै विदेशी स्टार इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था छन्। उता, कुशल मल्ल नेतृत्व गरेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल थिए भने विदेशी खेलाडीमा रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान, अल्पेस रामजानी रहेका छन्।
दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजे सुरु हुनेछ। पोखराले हालसम्म ४ खेल खेल्दा १ जित र ३ हार छ भने कर्णाली याक्सले ५ खेलमा १ जित र ४ हार व्यहोरेको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरामा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी खेलाडीमा डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन, जेसन रोय छन्। सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्समा गुलशन झा, नन्दन यादव, पवन सराफ लगायत राष्ट्रिय खेलाडी तथा विदेशीतर्फ जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट, नाजिबउल्लाह जद्रान रहेका छन्।
आजका दुबै खेलले तालिका स्थिति र प्लेअफको समीकरणमा प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।






प्रतिकृया