११ महिनामा सेयर धितो कर्जा ४३ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार ०२:०२
असार २६, २०८२ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा करिब ४३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म कुल १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइसकेको जनाएको छ।
अघिल्लो असार मसान्तमा यो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो । सोही आधारमा ११ महिनाको अवधिमा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ थपिएको हो, जसले ४२.८ प्रतिशतको वृद्धिदर देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत आर्थिक बर्षको असारसम्ममा ५५ अर्ब ९३ करोड २ लाख रहेकोमा चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ८८ अर्ब ४२ करोड ७ लाख पुगेको छ। यो वृद्धिदर ५८.१ प्रतिशत हो ।
त्यसैगरी यस अवधीमा मझौला कर्जामा पनि उल्लेख्य विस्तार भएको छ । ५० लाख देखि १ करोड सम्मका कर्जामा गत असार मसान्तसम्ममा १२ अर्ब ४२ करोड ७७ लाख कर्जा विस्तार भएकोमा चालु आवको जेठ मसान्तमा १५ अर्ब ३० करोड २ लाख पुगेको छ । जुन वृद्धि २३.१ प्रतिशत हो ।
त्यस्तै , २५ लाख देखि ५० लाख सम्मका कर्जामा गत असार मसान्तसम्ममा १४ अर्ब ४२ करोड ३१ लाख भएकोमा यश बर्ष जेठ मसान्तसम्ममा १६ अर्ब ८७ करोड ५० लाख बिस्तार भएको छ । जुन वृद्धि १७ प्रतिशत हो।
त्यसैगरी २५ लाखसम्मको कर्जामा गत असार मसान्तसम्ममा ७ अर्ब ३१ करोड २३ लाख रहेकोमा चालु आवको जेठ मसान्तसम्ममा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यो वृद्धि १०.४ प्रतिशत हो ।








प्रतिकृया