कामीरिता शेर्पाद्वारा सगरमाथा ३१औँ पटक आरोहण, नयाँ विश्व कीर्तिमान स्थापना
प्रकाशित मिति
२०८२ जेष्ठ १३ गते, मंगलवार ०९:०६
काठमाडौं । विश्व प्रसिद्ध सगरमाथामा आरोहण गरेर कामीरिता शेर्पालाई इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्न सफलभएका छन् । आरोही कामीरिता शेर्पा आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’

कामीरिताले गत वर्ष ०८१ साल वैशाख ३० गते २९औँ र जेठ ९ गते ३०औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौँमा बस्दै आएका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।




प्रतिकृया