• ४ असोज २०८३, आइतबार
  • ८ः१४ बिहान

आईपीओमा लगानीको अवसर, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति

२०८१ पुष १० गते, बुधबार ०३:१२

पुष १०, २०८१ काठमाडौँ: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

National Life

कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशत दरले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन तथा बाँडफाँट गरिसकिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आईपीओ निष्काशन गरी पुस ८ गते बाँडफाँट गरिएको हो ।पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँटपछि पनि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशतलेहुन आउने १ लाख १२ हजार ५०० कित्ता भने सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख ४५ हजार कित्ता आईपीओ भने सार्वजनिक निष्काशनमा ल्याउन लागिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक निष्काशनमा आउने आईपीओ छिटोमा पुस २४ गतेसम्म निष्काशनमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ ६ गतेसम्म निष्काशनमा रहने जानकारी कम्पनीले दिएको छ । तर पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षणका कारण पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधि पुस २४ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी माईनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो ।

अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । हाल संस्थापक तर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ ।कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्धिका लागि आईपीओ निष्काशन गरेको हो ।

गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अघिल्लो आर्थिक वर्ष ०७९/८० सम्म भने कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ । चालू आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनीले ८४ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

प्रतिकृया