मौद्रिक नीति आजै आउने सम्भावना
प्रकाशित मिति
२०८० श्रावण ७ गते, आईतवार १२:१९
७ श्रावण २०८०, काठमाडौँ : चालू आर्थिक वर्षको मौद्रिक नीति आज आइतबार सार्वजनिक हुने सम्भावना छ । मौद्रिक नीतिमाथि छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । सञ्चालक समितिले पारित गरेमा आजै दिउँसोसम्म मौद्रिक नीति जारी हुने सम्भावना छ ।
शेयर बजार र घरजग्गा कारोबारमा नीति खुकुलो हुने सम्भावना छ । यस्तै ब्याजदरको बारेमा पनि सकारात्मक खबर आउने राष्ट्र बैंक स्रोतको दाबी छ । राष्ट्र बैंकले पनि अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न उचित निर्णय लिने भनेको छ। अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षामा छन्। तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ। अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त छन्।
यसले व्यवसाय सञ्चालनलाई निरन्तरता दिन कठिन भएकाले यसको खारेजीको माग गर्दै आएका छन्। तर, चालु पुँजी कर्जाको व्यवस्था कायम रहनेमा राष्ट्र बैंक स्पष्ट छ।
बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायतका क्षेत्रका करिब ५० संघ-संगठन, विज्ञ तथा सरोकारवालाले मौद्रिक नीतिमा सुझाव दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरूलाई आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी नीति ल्याउन भनेका छन्।








प्रतिकृया