सरकार र अदालत भारतको ‘गुलाम’ भएको मेयर बालेनको टिप्पणी
प्रकाशित मिति
२०८० असार ७ गते, बिहीबार ०२:४७
७ असार २०८०, काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा चल्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनको आदेशलाई खुला चुनौती दिएका छन् ।
महानगरपालिकाको काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने अडानबिरुद्धको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्ममा रोक नलगाउन अन्तरिम आदेश जारी गरेलगत्तै उनले फिल्म चल्न नदिने बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्- जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’
उनले ‘आदिपुरुष’का लेखकले नेपाल भारतको अधीनमा थियो भनेकाले भारतीय पक्षको नियत थाहा भएको दाबी पनि गरेका छन् । ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ,’ उनले लेखेका छन् । उनले यसका लागि जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै फिल्म चल्न भने नदिने बताएका छन् ।







प्रतिकृया