जेठदेखि निजी अस्पतालका मेडिकल अफिसरको न्यूनतम तलब साढे ४८ हजार
प्रकाशित मिति
२०८० बैशाख १९ गते, मंगलवार ०५:४३
वैशाख १९, २०८०, काठमाडौँ: आगामी जेठदेखि निजी अस्पतालमा काम गर्ने चिकित्सकको पारिश्रमिक बढ्ने भएको छ । यसअघि निजी अस्पतालका मेडिकल अफिसर (हाउस अफिसर)को न्यूनतम पारिश्रमिक ४२ हजार रुपैयाँ रहेकोमा जेठ १ गतेदेखि ४८ हजार ७३७ रुपैयाँ बनाउने निर्णय भएको हो ।
निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघ (एनएमए)को सोमबारको बैठकले तलब बढाउने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिमा न्यूनतम पारिश्रमिक वृद्धि गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले बताए ।

बैठकले चिकित्सकहरूको परामर्श शुल्क (ओपीडी) शुल्क पनि वृद्धि गर्ने निर्णय गरेको थियो । बढेको शुल्कअनुसार चिकित्सकहरूले आफ्नो अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।




प्रतिकृया