अकस्मात रोकियो कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम
प्रकाशित मिति
२०७९ कार्तिक ७ गते, सोमबार ११:१९
७ कार्तिक २०७९, काठमाडौँ: नेपाली कांग्रेसको घोषणापत्र (संकल्प पत्र) सार्वजनिक कार्यक्रम रोकिएको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै घोषणापत्र पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको छ ।
आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट जारी गर्ने घोषणापत्र शुक्रबार नै तयार पारेको थियो । महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहेको ४१ सदस्यीय समितिले लामो समय लगाएर यो घोषणापत्र तयार पारेको हो ।
कांग्रेसले घोषणापत्र लेखन सम्पन्न कार्य शुक्रबार नै सकेको भएपनि सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण रोकिएको थियो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ४१ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको थियो ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र समितिले लेखनको सम्पूर्ण काम सकेर सार्वजनिक गर्ने तयारी गरिएको थियो । सभापति देउवा आइतबार पनि गठबन्धनको सुदूरपश्चि र कर्णाली प्रदेशमा हुने संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गएका कारण आइतबारबाट समय सोमबारका लागि सारिएको थियो ।








प्रतिकृया