बिस्केट जात्रामा विश्व ध्वजासहितको लिङ्गो उठेन
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार १०:५६
बैशाख १ २०७९, काठमाडौं : प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन । चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गंगा हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले बताए ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ ।

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिङ्गो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो रहेको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
आज बिहानैदेखि लिङ्गो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भीड लागेको छ । दर्शन गर्नेको भीड नसकिएसम्म लिङ्गो उठाइँदैन । भीड कम भएपछि लिङ्गो उठाइने बताइएको छ ।
बिस्केट जात्राका अवसरमा बुधबार बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिङ्गो उठाएका छन् । त्यस्तै मध्यपुरथिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले बुधबार नै लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ ।




प्रतिकृया