विरोधीहरूको मानसिक सन्तुलन गुमेको छ : माधव नेपाल
प्रकाशित मिति
२०७८ चैत्र ११ गते, शुक्रबार ०१:४३
११ चैत्र २०७८, काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका हुन् ।
‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्’, अध्यक्ष नेपालको भनाइ छ । उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए ।
उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकोले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।
एमाले राष्ट्रिय आत्मसमर्पणवादी बाटोमा लागेको छ, हामी देशभक्तिपूर्ण अडानमा छौ, एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादी अहंकार त्यसका नेतामा छ, निरंकुश शैली अपनाउने गरेका छन्, हामी सामूहिकतामा विश्वास गर्छौ’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले सुरुदेखि केपी ओलीसँग आफ्नो लडाई रहने भनेको प्रसंग कोट्याउँदै राष्ट्रियसभा निर्वाचनमा ओलीलाई धुलो चटाइदिएको बताए । उनले भने, ‘केपी ओलीका उम्मेदवारले धुलो चाटे, हाम्रो उम्मेदवार विजयको शिखरमा पुगे, कलम चिन्हलाई जिताएर इतिहास निर्माण गरे । उनले आफुबाट छुट्टिएर गएकाहरूको एमालेमा बेहाल भएको देखिन थालेको पनि बताए ।








प्रतिकृया