• ६ असोज २०८३, मंगलबार
  • ७ः०८ बिहान

डोल्पामा टाइफाइडको प्रकोप बढ्दै

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ०२:५०

डोल्पा, हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् ।

National Life

बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिनुभयो ।

एक महीनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । “अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ”, रावलले भन्नुभयो, “यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् ।

‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताउनुभयो । यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ ।

प्रशासनले बोलायो आकस्मिक बैठक

भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ । प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा स्वास्थ, खानेपानी, नागरिक समाज, सञ्चारलगायतका विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिलाई बोलाएर छलफल भइरहेको छ । रोग नियन्त्रणका लागि कुन–कुन निकायले के–कस्तो भूमिका खेल्ने भन्ने विषयलाई विशेष जोड दिइएको छ ।

यसअघि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणका लागि आपतकालीन बैठक राखिसकेको जिल्ला प्रशासन कार्यालयले आइतबार पनि आपतकालीन बैठक बोलाएको हो । बैठकमा दूषित पानीको प्रयोग रोक्न पानी शुद्धीकरण गरेर खानुपर्ने, सामान्य लक्षण देखिनेबित्तिकै उपचार गराउनुपर्ने, सूचना तथा सन्देश प्रवाह गर्नुपर्नेलगायतका कुरामा विशेष जोड दिइएको छ । रासस

प्रतिकृया