सुनको अवैध कारोबारमा संलग्न एक सय ७ जनाबाट ८४ किलो सन बरामद
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०८:५२
काठमाडौ । सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ । कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन् । उनी २०७५ फागुन २ गते पक्राउ परे । चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् । उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन् ।
चालु आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिहरुबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ । सो सुनमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला रहेको छ । त्यसैगरी ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो ।
साथै अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको छ । उक्त असुलीमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार, प्रहरीले पछिल्लो समय अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारेको छ ।





प्रतिकृया