डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति कति ?
प्रकाशित मिति
२०८३ बैशाख १० गते, बिहीबार ०९:३३
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार पण्डित र उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी तथा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ ।
विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ । उक्त सम्पत्तिको स्रोत निजी आम्दानी, श्रीमतीको आय र बैंक ऋण रहेको जनाइएको छ । त्यस्तै काठमाडौंकै तारकेश्वरमा श्रीमतीकै नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ ।

यसैगरी उनका बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको छ । आमाकै नाममा काठमाडौंको सामाखुशीमा साढे दुई तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी तथा करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख गरेका छन् । ती सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको बताइएको छ ।
त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको जानकारी दिएका छन् । साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ ।
सवारी साधनतर्फ उनकी श्रीमतीका नाममा इ–२० महिन्द्रा ईभी गाडी र दुई वटा मोटरसाइकल तथा आफ्नै नाममा एक मोटरसाइकल रहेको विवरणमा उल्लेख छ ।
पण्डित चैत २४ गते डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए ।




प्रतिकृया