सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कति भयो जम्मा रकम ?
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार १०:३८
मंसिर ८, २०८२ काठमाडौं – सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।
यसैगरी, एफवान सफ्ट समूहअन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानस्वरूप ७५ लाख रुपैयाँ कोषमा जम्मा हुनेगरी चेक हस्तान्तरण गरिएको थियो। चेक समूहका अध्यक्ष सिद्धान्त ठकुरीले मंसिर ३ गते अर्थमन्त्री खनाललाई बुझाएका थिए।
सरकारको तर्फबाट अर्थमन्त्री खनालले दुवै कम्पनीलाई योगदानप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार कोषमा आइतबारसम्म जम्मा भएको कुल रकम ९ करोड ३० लाख रुपैयाँ पुगेको छ।






प्रतिकृया