दुई ट्रक पैसा सारिएको दाबी निराधार भन्दै प्रचण्ड सचिवालयको स्पष्टिकरण
प्रकाशित मिति
२०८२ आश्विन २६ गते, आईतवार १२:०४
असोज २६, २०८२ काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बन्धी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारप्रति प्रचण्ड सचिवालयले कडा आपत्ति जनाउँदै खण्डन गरेको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रचण्ड निवासबाट जेन्जी आन्दोलन पूर्व दुई ट्रक पैसा लगिएको, सुरक्षाकर्मीहरूलाई घरेलु कामदार बनाइएको, र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको” जस्ता दाबीहरू पूर्णतः निराधार, भ्रामक र बदनियतपूर्ण रहेको स्पष्ट गरिएको छ।
सचिवालयले यस्ता आरोपहरूबारे प्रमाणसहित सार्वजनिक गर्न चुनौती दिँदै भनिएको छ, “यदि यस्ता समाचारहरूमा सत्यता छ भने प्रमाणसहित प्रस्तुत गरियोस्, नत्र यस्ता दुष्प्रचारले गलत सन्देश दिन्छ।”
त्यस्तै, सचिवालयले डिजिटल माध्यममार्फत यस्ता असत्य सूचना फैलाउनु साइबर अपराध अन्तर्गत पर्ने भन्दै सम्बन्धित निकायलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनतामाझ भ्रम फैलाउने नियतले गरिएको यस्ता प्रचारहरू लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र विधिको शासनविपरीत छन्।”
हालैका दिनहरूमा जेनजी आन्दोलनसँग जोडिँदै विभिन्न राजनीतिक नेताहरूमाथि सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यमहरूमा आरोप-प्रत्यारोप भइरहेका बेला प्रचण्ड पक्षबाट औपचारिक रूपमा आएको यो खण्डनले बहसलाई थप चर्काएको छ।






प्रतिकृया