भोटेकोशीमा भीषण बाढी: मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क विच्छेद
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार ०७:४२
असार २४, २०८२ काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवास्थित नेपाल–चीन सीमा जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ, जसका कारण दुई देशबीचको सीमावर्ती सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । भोटेकोशी नदीमा सोमबार बिहान करिब ३ बजेतिर अचानक आएको बाढीले पुलसहित आसपासको क्षेत्र तहसनहस बनाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, बाढीले रसुवागढी ड्राइपोर्ट क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। “जाँचपासका लागि राखिएका करिब ६–७ वटा ईभी गाडीहरु बगाएका छन्,” उनले बताए। साथै, त्यहाँ रहेका केही चालक तथा सहचालकहरू पनि बग्ने सम्भावना रहेको आशंका गरिएको छ, यद्यपि मानवीय क्षति पुष्टि भइनसकेको प्रशासनले जनाएको छ। बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुगेको पुष्टि गरिएको छ।
प्रशासनले तल्लो क्षेत्र विशेष गरी मैलुङ र बेत्रावती आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। “अचानक बाढी आएकाले जोखिम बढेको छ,” अधिकारीले भने। मैलुङ प्रहरी चौकीका प्रहरीहरूलाई समेत सुरक्षित स्थानमा सारिएको जानकारी प्राप्त भएको छ। हाल उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको छ भने फसेका मानिसहरूको सकुशल उद्धारमा प्रशासन क्रियाशील रहेको छ।






प्रतिकृया