बरदुबईमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८१ श्रावण १६ गते, बुधबार ०२:३८
साउन १६, २०८१ काठमाडौँ: ‘हाम्रो नुवाकोट हाम्रो सान, सेवा र सहकार्यता हाम्रो अभियान” भन्ने मुल नारा सहित सन २०१९ मा युएई स्थित स्थापना भएको नुवाकोट सेवा समाज युएईको आयोजनामा गत आइतबार २८ जुलाई २०२४ का दिन युएई स्थित बरदुबईमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । बरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपालबाट आमन्त्रित कवियत्री एवम गजलकार सुमित्रा सुमी ज्यूको विशेष साहित्य बाचन सहित कार्यक्रमको आकर्षणको रुपमा हुनुहुन्थ्यो। युएइको इतिहाँसमै पहिलो पटक नेपाल बाट साहित्यकार निमन्त्रणा गरि गरिएको यो कार्यक्रम एतिहाँसिक थियो।
सोही कार्यक्रमका अवसरमा साहित्यकार सुमीलाई नेपाली भाषा र साहित्यको अन्नुनयमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै मुल आयोजक परिवर नुवाकोट सेवा समाज युएईद्वारा विशेष सम्मान समेत गरेको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली समाज युएई (INS)को तर्फबाट पनि उहाँलाई सम्मान गरिएको थियो भने, सगरमाथा साहित्य प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहनु भएकी साहित्यकार सुमीलाई प्रतिष्ठानका तर्फबाट पनि सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहनुभएकी साहित्यकार सुमीले दुई चरणमा गद्य र पद्दमा कविता तथ गजलहरु वाचन गर्नु भएको थियो ।
साहित्य संगम नुवाकोटकी अध्यक्ष समेत रहनु भएकी सुमी पेशाले शिक्षिका हुनुहुन्छ । नुवाकोट बसेर लामो समयदेखि साहित्य लेखनसँगै विभिन्न साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आउनु भएकी सुमी लामो समयदेखि रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ । साथै, उहाँले सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट २ सय अङ्कसम्म साहित्यिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सोहि कार्यक्रमको अवसर पारेर साहित्य संगम नुवाकोटद्वारा प्रकाशित साहित्यिक पत्रिका “संगम” को विमोचन समेत गरिएको थियो ।
नुवाकोट सेवा समाज युएईका अध्यक्ष श्री नवीन कार्कीले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने नेपाली राजदूतावास युएईका नियोग प्रमुख विशाल भट्टराई ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । दूतावासका प्रतिनिधि विकास भट्टराईको समेत उपस्थिति रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद युएई, नेपाली समाज युएई, लगायत युएईमा सक्रिय सामाजिक संस्था, जातीय संस्था, धार्मिक संस्था तथा बैचारिक संगठनमा आवद्ध व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो।
नुवाकोट सेवा समाज युएईका सदस्य श्री सुमन भण्डारी ज्यू द्वारा संचालित औपचारिक कार्यक्रममा संस्थाका संस्थापक समिति मध्यका सुजन थापाले स्वगत मन्तब्य राख्दै, नुवाकोटको परिचय स्वरुप यसको इतिहाँस र चिनारिबारे संक्षिप्त वर्णन गर्नुभयो। त्यस्तै कार्यक्रममा विगत चार दशक देखि युएईमा रहि समाजसेवामा अग्रसर नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष श्री चन्द्रप्रकाश सापकोटा, प्रवासी नेपाली मञ्च युएईक कार्यवाहक अध्यक्ष बाबुराम सापकोटा, नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, DNIG ग्रुपका प्रतिनिधि मनोज मरहठ्ठा, साथै गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषड युएईका अध्यक्ष विकाश शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
त्यस्तै, नेपाली राजदूतावास युएईका नियोग प्रमुख विशाल भट्टराईले नेपाली भाषा र साहित्य देशको गहना मात्र नभई यो देशको पहिचान पनि भएको उल्लेख गर्नु भयो । कुनै पनि देशलाई समाप्त पार्नु छ भने सबैभन्दा पहिले त्यो देशको भाषा, साहित्यमाथि आक्रमण गरिदिए हुन्छ भन्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले भाषा र साहित्यको संरक्षण गर्न यस्ता साहित्यिक कार्यक्रमहरु हुनु जरुरी रहेको बताउनु भयो।
सिर्जना वाचन डबली युएईको सह-आयोजना तथा सगरमाथा साहित्य प्रतिष्ठान युएई र अन्तरास्ट्रिय नेपाली समाज युएई (INS) को सहकार्यमा सम्पन्न कार्यक्रममा युएईमा रहेर साहित्यिक कलम चलाउने नेपाली सर्जकहरुको पनि विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा रचना प्रस्तुत गर्ने तीन दर्जन बेसी सर्जकहरुलाई आयोजकका तर्फबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको साहित्यपोस्टसहित स्पोन्सरहरु, सह-आयोजक र अन्य सहयोगी संघ-संस्थाहरुलाई कार्यक्रम आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
समाजले विभिन्न क्षेत्रमा काम गर्दै आएता पनि साहित्यिक क्षेत्रमा यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा यस्तै कार्यक्रमहरु निरन्तर गर्दै जाने नुवाकोट सेवा समाजका अध्यक्ष श्री नवीन कार्कीले विश्वास दिलाउनु भएको थियो । जस्ले समाज मात्र नभएर सिंगो राष्ट्रलाई प्रतिनिधित्व गर्ने छ।






प्रतिकृया