• 7:21 am

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान

प्रकाशित मिति

२०८१ बैशाख २० गते, बिहीबार १०:४४

वैशाख २०, २०८१ काठमाडौँ: बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुनः नियमित उडान भएको छ ।

विगत चार दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,” सूचना अधिकारी कर्णले भने ।

मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि नियमित उडान भएको उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

प्रतिकृया