• 10:09 am

ताइवान भूकम्पमा नौजनाको मृत्यु, एक हजारभन्दा धेरै मानिस घाइते

प्रकाशित मिति

April 4, 2024

चैत्र २२, २०८० काठमाडौँ: ताइवानमा उद्धारकर्मीले देशमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको एक दिनपछि फसेका १०० भन्दा बढी व्यक्तिको खोजी गरिरहेका छन् ।

बिहीबार बिहानसम्म अधिकारीहरूले भूकम्पमा परी मृतकको संख्या नौ रहेको बताएका छन् । एक हजार ५० जना घाइते छन् । १०१ जना अझै विभिन्न भवनहरूमा फसेका छन् ।

स्वास्थ्य तथा कल्याण मन्त्रालयलाई उद्धृत गर्दै राष्ट्रिय दमकल एजेन्सीका अनुसार, करिब ४६ जना बेपत्ता वा सम्पर्कविहीन छन् ।

व्यावसायिक सिभिल इन्जिनियर्स एसोसिएसनका लिन चिह–चेङका अनुसार, हुआलियनमा खोजी र उद्धारकार्य जारी छ । १०० भवनलाई जोखिमपूर्ण वर्गीकरण गरिएको र धेरै भत्काउनुपर्ने उनले बताएको सीएनएनले जनाएको छ ।

बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

स्थानीय समयानुसार बिहान ७ बजेर ५८ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा ३४.८ किलोमिटर गहिराइमा थियो।

प्रतिकृया