• 7:59 pm

फोडेनको ह्याट्रिकमा भिल्लाविरुद्ध सिटीको सहज जित

प्रकाशित मिति

२०८० चैत्र २२ गते, बिहीबार १०:४६

चैत्र २२, २०८० काठमाडौँ: फिल फोडेनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीले तीन अंक निश्चित गर्दा फोडेनले ह्याट्रिक र रोड्रीले एक गोल थपे । पाहुना टिमका जोन डुरानले एक गोल फर्काएका थिए ।

११औँ मिनेटमा रोड्रीको गोलमा सिटीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा डुरानको गोलबाट भिल्ला खेलमा फर्किएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फोडेनले गोल गर्दा सिटीले पुनः २–१ को अग्रता बनायो । ६२औँ मिनेटमा फोडेनले नै सिटीको अग्रतालाई ३–१ मा पुर्‍याए । त्यसको सात मिनेटपछि नै फोडेनले ह्याट्रिक गर्दा सिटीले ४–१ को सहज जित निश्चित गरेको हो ।

जितसँगै ३० खेलबाट ६७ अंक जोडेको सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलभन्दा यो एक अंक मात्र कम हो । आर्सनलले समान खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुल सिटीभन्दा गोल आधारमा मात्र माथि छ । चौथो स्थानको भिल्लाको ३१ खेलबाट ५९ अंक छ ।

बुधबार राति नै भएको अर्को खेलमा शीर्ष स्थानको आर्सनलले लुटोन टाउनविरुद्ध २–० को जित निकाल्यो ।

प्रतिकृया