सिमखोला खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः खायमली निर्विरोध
प्रकाशित मिति
२०८० फाल्गुन २७ गते, आईतवार ११:५३
फागुन २७, २०८० नगरकोट : भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न संस्थाको पाचौं वार्षिक साधारण सभाले खायमलीलाई पुनः निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको विधान २०६७, प्रचलिन निर्वाचन सम्बन्धी मूल्यमान्यता तथा मापदण्ड समेतका आधारमा मूल समितिको कार्यसमितिका लागि आवश्यक पदहरुमा एक मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता किरण न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार संस्थाको उपाध्यक्षमा कुमार राउत, सचिवमा शेर बहादुर ङाखुसी, कोषाध्यक्षमा सुनिता देउजा निर्विरोध निर्वाचित भएका छन । यसैगरी सदस्यहरुमा १ नं. वडाबाट पुण्यराम हेङ्गजु, २ नं. वडाबाट माधवप्रसाद उपाध्याय, ३ नं. वडाबाट विसुराम बुढाथोकी, ४ नं. वडाबाट पार्वती नगरकोटी र ५ नं. वडाबाट लव थापा निर्विरोध निर्वाचित भएको न्यौपानेले बताउनुभयो ।
सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाले साविक चित्तपोल गाविसको वडा नं. १ देखी ५ सम्म खानेपानी वितरण गर्दै आइरहेको छ । विधानमा सोही अनुसार प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको संस्थाका अध्यक्ष नारायणभक्त खायमलीले बताउनुभयो । साविक चित्तपोल गाविस सूर्यविनायक नगरपालिकाको वडा नं. १० कायम भएको छ ।







प्रतिकृया