• 7:10 pm

विदेशमा रहेका नेपालीलाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ : उपाध्यक्ष श्रेष्ठ

प्रकाशित मिति

२०८० भाद्र ३० गते, शनिबार ०५:४२

भदौ ३०, २०८० काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताउनुभएको छ ।


राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले १६औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताउनुभयो ।


उपाध्यक्ष डा श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको बताउनुभयो । “सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ । तर उत्पादन र रोजगारी बढेन । त्यसैले हामीले अहिले रोकेका छाँै । पछि कार्यविधिलाई संशोधन गरेपछि नयाँ प्रक्रियामा सहुलियपूर्ण कर्जालाई लैजान्छौँ”, उहाँले भन्नुभयो ।


कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकाले युवाको मुद्दा समाधान गर्न नसकिएको बताउनुभयो । उहाँले युवाका समस्या युवासँग बसेर छलफल गर्नसके धेरै अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।


नेपाल बैंकर एशोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताउनुभयो । उहाँले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै लगानी उठ्न जोखिम रहेकाले केही बैंक उद्योगमा लगानी गर्न डराएको बताउनुभयो ।


नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले युवाको उद्यमशीलताका लागि नयाँ गन्तव्य खोज्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका युवा धेरै सक्रिय रहेकाले नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशील बनाउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताउनुभयो । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर बेच्न सक्दैन । किसानले उत्पादन गरेको खाद्यवस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ । स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिकृया