प्रधानमन्त्रीकाे चीन भ्रमणकाबारे शीर्ष दलका नेताहरु सँग छलफल

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार १२:३४

375697780 3575543229377325 9067744280320792737 n 1 e1694328558811

भदौ २४, २०८० काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो आसन्न अमेरिका तथा चीन भ्रमणकाबारेमा छलफल गरेका छ्न । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले बैठकको आव्हान गरेका थिए । बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका राजनीतिक नेताहरू थिए । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्थ ठाकुर, डा.सिके राउत, प्रेम सुवाल, चित्रबहादुर केसी,परराष्ट्रमन्त्री एनपी साउद, पूर्व परराष्ट्रमन्त्रीहरु प्रदीप ज्ञवाली, रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याल, मुख्यसचिव वैकुण्ठ अर्याल, राष्ट्रिय सुरक्षा सल्हाकार शंकरदास वैरागीलगायतका व्यक्तिहरु सहभागी थिए ।


छलफलमा उपस्थित विभिन्न नेताहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणको बारेमा प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका थिए । एमाले अध्यक्ष ओली बैठकबाट छिट्टै निक्लिएका थिए , उनको तर्फबाट पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सुझाव प्रस्तुत गरेका छ्न । उनले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


उनले भने ‘नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु’ ।


त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएकोबारेमा प्रष्टसँग कुरा राख्न सुझाव दिएका थिए । उनले उनले २०७७ मा जारी भएको नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको कुरा आफूलाई थाहा नभएको बताए।


त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि प्रधानमन्त्री प्रचण्डलाई भ्रमणका क्रममा व्यक्त गर्ने आफ्नो हाउभाउका बारेमा ख्याल राख्न सुझाव दिएको बताए । हतारमा कुनै पनि काम नगर्न आग्रह गर्दै उनले भने, ‘पछि सच्याउनै नमिल्ने खालको गाह्रो काम, राष्ट्रका लागि पछि नराम्रो हुने काम नगर्नुहोला ।’


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू-भाग छुटेकोबारेमा आम नेपाली जनताले थाहा पाउनेगरि कुरा राख्न आग्रह गरेको छ ।


प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया