आर्थिक सुधार गर्दै संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ : प्रधानमन्त्री दाहाल
प्रकाशित मिति
२०८० जेष्ठ ९ गते, मंगलवार ०३:३४

९ जेठ २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएको स्पष्ट पारेका छन् । मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रम माथिको सवालमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए ।
‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्तः गर्नुभएको छ, त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु । कृषि क्षेत्रको सुधार, आर्थिक सुधार गर्दै आर्थिक संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ ।’
‘नेपाली जनताको दशकौंको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासकीय प्रणाली संस्थागत गर्ने ध्येयका साथ आएको नीति तथा कार्यक्रम गन्तव्यहीन भन्नु विल्कुल तर्कसँग छैन । नीति तथा कार्यक्रम सरकारको सोच, लक्ष्य र गन्तव्य प्रस्ट रुपमा आएको छ । सरकारको प्रमुख नीतिगत कार्यक्रमहरुलाई प्राथमिकताका साथ समेटिएका छन् । अतः नीति तथा कार्यक्रमलाई दीर्घकालीन सोच मात्र होइन त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने रणनीतिहरु समेत लिइएको छ । अझै आर्थिक समस्या कायमै रहेका बेला धेरै राम्रा कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् । अतः यो गफको पुलिन्दा होइन’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन् ।
त्यस्तै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिवद्ध रहेको पनि उनले बताए । परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रतिकृया