सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त
प्रकाशित मिति
२०८० बैशाख १२ गते, मंगलवार ०४:२०
१२ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उनको पद रिक्त भएको जानकारी दिएका हुन्।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु। साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु।’
यसरी दलले गरेको कारबाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ। संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा छ।
वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो। तर संसद सचिवालयले थप कागजात मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ८ गते ढाकाकुमार श्रेष्ठलाई सोधिएको स्पष्टीकरण, सांसद श्रेष्ठले दिएको स्पष्टीकरणको प्रतिलिपी, पार्टीको केन्द्रीय समितिको निर्णयको विवरण संसद सचिवालयमा बुझाएको थियो।
संसद सचिवालयले विवरण बुझाएपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई निष्कासन गरिएको सूचना प्रतिनिधि सभामा सुनाएका हुन्। संसद सचिवालयले श्रेष्ठलाई निष्कासन गरेपछि अब निर्वाचन आयोगमा जानकरी दिनेछ भने राजपत्रमा पनि सूचना प्रकाशित गर्नेछ।







प्रतिकृया