सुकुम्वासी भन्दैमा जथाभावी घरटहरा बनाएर बस्ने छुट नभएको बालेनको अदालतलाई जवाफ
प्रकाशित मिति
२०८० बैशाख ८ गते, शुक्रबार ०४:४१
८ वैशाख २०८०, काठमाडौँ: उच्च अदालत पाटनमा लिखित जवाफ पेस गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘सुकुम्वासी भन्दैमा जथाभावी आफूखुसी जहिंतही घर टहरा बनाई बसोबास गर्ने छुट कसैलाई पनि कानुनले नदिएको’ दाबी गरेका छन् ।
भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई हटाउने काठमाडौं महानगरको ७ दिने सूचनाकोविरुद्ध जानुका पोख्रेलले उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । उच्च अदालतले उक्त मुद्दामा काठमाडौं महानगरसँग लिखित जवाफ मागेको थियो ।
अदालतलाई लिखित जवाफ पेस गर्दै बालेनले सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा धार्मिक तथा सांस्कृतिक क्षेत्रभित्रको जग्गा सुकुम्वासी या अव्यवस्थित बसोबासलाई दिन भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख (४) ले निषेध गरेको जिकिर गरेका छन् । साथै, बिना कुनै आधार र कारण सुकुम्वासी भएको भन्दैमा जथाभावी आफूखुसी जहिंतही घर टहरा बनाई बसोबास गर्ने छुट कसैलाई पनि कानुनले नदिएको उनको दाबी छ । काठमाडौं महानगर कानुनी मान्यताको पालना गर्ने गराउने कर्तव्यमा रहेकोसमेत उनले लिखित जवाफमा भनेका छन् ।
‘भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ख (४) ने सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा धार्मिक तथा सांस्कृतिक क्षेत्रभित्रको जग्गा, संघ, प्रदेश वा स्थानीय तहको प्रयोगको लागि आवश्यक रहेको जग्गा सुकुम्वासी या अव्यवस्थित वसोवासीलाई दिन निषेध गरेको छ बिना कुनै आधार र कारण सुकुम्वासी भएको भन्दैमा जथाभावी आफूखुसी जहिंतही घर टहरा बनाई बसोबास गर्ने छुट कसैलाई पनि कानुनले दिएको देखिँदैन । उक्त कानुनी मान्यताको पालना गर्ने, गराउने कर्तव्य महानगरमा छ,’– लिखित जवाफमा भनिएको छ।







प्रतिकृया