• १० असोज २०८३, शनिबार
  • १ः२४ राती

राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा भारतीय कांग्रेसले देशभर ‘जनआन्दोलन’ गर्ने

प्रकाशित मिति

२०७९ चैत्र ११ गते, शनिबार १०:००

चैत ११, २०७९, काठमाडौँ: आफ्ना नेता (पूर्वअध्यक्ष) राहुल गान्धीको सांसद (लोकसभा सदस्य) पद खारेज गरिएको विरोधमा भारतीय राष्ट्रिय कांग्रेसले देशभर ‘जनआन्दोलन’ गर्ने भएको छ । बीबीसी हिन्दीका अनुसार शुक्रबार साँझ नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेस महासचिव जयराम रमेशले सञ्चारकर्मीलाई जानकारी दिएका हुन्। यो आन्दोलन सोमबार देशभर सुरु हुने उनले बताए।

National Life

उनका अनुसार ‘हातमा हात मिलाऊ’ अभियानसँगै राहुल गान्धीलाई अयोग्य घोषणा गरिएकोविरुद्ध जनचेतनामूलक कार्यक्रम, संविधान बचाऔँ अभियान सञ्चालन गरिनेछ । जयराम रमेशले भने, ‘हामीले देशभर गएर मोदी सरकारविरुद्ध आवाज उठाएका कारण राहुल गान्धीलाई जानाजानी अयोग्य घोषणा गरिएको हो।’


उनले ‘भारत जोडो यात्रा’ अभियानलगायत आफूहरूका गतिविधिबाट प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) उत्तेजित भएको आरोप पनि लगाए । जयराम रमेशले सबै विपक्षी नेताको समर्थनमा आएको अभिव्यक्तिको स्वागत गर्दै अब विपक्षी एकताको विषयलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस क्रममा उनले भने, ‘कांग्रेस अध्यक्षले संसदमा हरेक दिन विपक्षी दलसँग समन्वय गरिरहनुभएको छ। अब बाहिर पनि गर्नुपर्छ ।’ चार वर्ष पुरानो मानहानिको मुद्दामा सुरतको एक अदालतले दुई वर्ष जेल सजायको फैसला सुनाएपछि भारतीय लोकसभा सचिवालयले राहुलको सदस्य पद खारेज गरेको हो।


अदालतले गान्धीलाई सजायविरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको थियो। तर लोकसभा सचिवालयले उनको सांसद पद नै रद्द गरिदिएको हो। सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’बारे गरेको टिप्पणीसँग सम्बन्धित छ। गान्धीले त्यतिबेला भनेका थिए, ‘सबै चोरहरूको उपनाम किन मोदी हुन्छ!’ मुद्दा सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित भएका थिए।


राहुल गान्धीका वकिलहरूको टोलीले मुद्दा सुनुवाइका क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्‍याउन नचाहेको जिकिर गरेका थिए। तर अदालतले उनलाई दोषी ठहर्‍यायो।

प्रतिकृया