• १६ भदौ २०८३, बुधबार
  • २:२० बेलुका

वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार १२:०२

२७ पुस २०७९, काठमाडौँ:  निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा १ हजार ३ सयभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।


कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ स्टोन्स् स्कुलको सहआयोजनामा भीमेस्थानस्थित केन्द्रीय कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा कामनाकर्मी, द रोलिङ स्टोन्स् स्कुलका विद्यार्थी तथा अभिभावकसहित सर्वसाधारणको उल्लेख सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट आँखा, नाक कान, घाँटी, छाला, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षणको सेवा प्रदान गरिएको थियो।

Kamana Sewa

Classic Tech Desktop

कामना न्यूज पब्लिकेसन्स् र नेपाल समाचारपत्र दैनिकले वार्षिकोत्सव मनाउने क्रममा वर्षभरी नै विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहीअन्तर्गत मंगलबार सो कार्यक्रम आयोजना गरिएको हो । कामना न्यूज पब्लिकेसन्स्मा आबद्ध सदस्यको बेलाबेलामा विभिन्न किसिमको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । यसअघि विशेषज्ञ चिकित्सकबाट मुटुरोग, मधुमेह, कोलस्ट्रोलको परीक्षण गरिएको थियो । यसपटक कामना न्यूज पब्लिकेसन्स्को शुभेच्छुक संस्था द रोलिङ स्टोन्स् स्कुलका विद्यार्थी, अभिभावक, पब्लिकेसन्स्का पत्रकार, कर्मचारीका परिवार र आमसर्वसाधारणलाई पनि शिविरमा सहभागी गराइएको थियो ।


उक्त कार्यक्रममा स्वास्थ्य शिविर आयोजना समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
उहाँले कामना परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्यलाई महत्व दिएर यसकिसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


त्यस्तै, नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका निम्ति सहयोग गर्ने काठमाडौं मेडिकल कलेज, लाइफ लाइन हेल्थ केयर होमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । काठमाडौं मेडिकल कलेजका बजार व्यवस्थापक प्रेम सुवालले शिविरमा धेरै सहभागीको समस्या पत्ता लागेको जानकारी दिँदै थप उपचारका लागि के एमसी अस्पतालमा आएको शल्कक्रियातर्फ ५० प्रतिशत छुट र अन्य परीक्षणमा २५ प्रतिशत एक वर्षसम्म छुट दिएर उपचार गरिने जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका अध्यक्ष राजु श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै आगामी दिनमा सञ्चारकर्मी तथा उनका परिवारका सदस्यहरुको हितका निम्ति विभिन्न कार्यक्रम गर्दै जाने बताउनुभयो । शिविर विहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो ।


कार्यक्रमलाई भव्य र सब्य बनाउनका लागि नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा, द रोलिङ स्टोन स्कूल परिवार, स्थानीय तह, जनप्रतिनिधि, लाईफ लाइन हेल्थ केयरलगायतका सहलस्यले सहजीकरण गर्नुभएको थियो । शिविरमा प्राविधिक सहयोग गर्ने काठमाडौं, मेडिकल कलेज, लाइफ लाइन हेल्थकेयर होम तथा चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया