• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ दिउँसो

चुनाव प्रचारमा बालबालिका प्रयोग गरेका भन्दै एमाले उम्मेदवार सूर्यबहादुर थापासँग आयोगले माग्यो स्पष्टीकरण

प्रकाशित मिति

२०७९ कार्तिक १३ गते, आईतवार १०:२०

१३ कार्तिक २०७९, काठमाडौँ: निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

National Life

बालबालिका प्रयोग गरिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।


थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको ठहर आयोगले गरेको जनाइएको छ । आयोगले भनेको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला ।’

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

प्रतिकृया