सेबोनलाई लगानीकर्ताको १९ बुँदे माग, माग पुरा गर्ने बोर्ड अध्यक्षको प्रतिवद्धता
प्रकाशित मिति
२०७९ जेष्ठ २३ गते, सोमबार ०१:५५
२३ जेठ २०७९, काठमाडौंः सेयर लगानीकर्ताहरूले तिलक कोइरालाको नेतृत्वमा पूँजी बजार सुधारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएका छन् । सेबोन पुगेका लगानीकर्ताहरूसँग छलफल गर्ने क्रममा बोर्ड अध्यक्ष हमालले आफूहरू लगानीकर्ताको मागप्रति सकारात्मक रहेको बताउँदै माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कुराकानीको क्रममा हमालले यति दिनमै माग पुरा हुन्छ भनेर मिति यकिन गर्न नसकेपनि बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्न आवश्यक कदम चालिसकेको र केही मागहरू छिट्टै नै पुरा गर्ने बताए । बोर्डबाट पुरा गर्न नसकिने मागहरू पनि अन्य निकायसँग समन्वय गरिने उनले आश्वासन दिएका छन् ।क्याबिनेटसँग सम्बन्धित मागहरूको बारेमा पनि सहकार्य गर्न बोर्डले यसअघि नै कार्य योजना तयार पारिसकेको उनले जानकारी दिएका छन् ।
सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित तिलक कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशनअघि लगानीकर्ताहरुले सेबोनमा शान्तिपूर्ण कार्यक्रम गरेका हुन् ।








प्रतिकृया