फेरि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०७:३८

२१ माघ २०७८, काठमाडौँ : सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । डिजल-पेट्रोलको मूल्य बढ्दा सार्वजनिक सवारीका प्रयोगकर्ताहरु यसको मारमा पर्नसक्ने देखिएको छ । २७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताउँछन् । २७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए । स्थानीय स्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय गरिरहेका छन् ।
सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १२६ रुपैयाँ र डिजलको १०९ रुपैयाँ हुँदाको अवस्थालाई आधार मानेर भाडा बढाउने निर्णय लिएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ र डिजलको १२५ रुपैयाँ पुगेको छ । ‘भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुन्छ, डिलेजल मात्रै लिटरमा १६ रुपैयाँ महंगो हुँदा उही दरमा भाडा राखिरहने ?’ उनले भने,’ ५ रुपैयाा घटबढ हुँदा नै भाडा समायोजन गर्ने गरी व्यवस्था छ, अब तुरुन्तै भाडा समायोजन गर्नुपर्छ ।’ फेरि सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाले जनाए ।
प्रतिकृया