• २३ भदौ २०८३, मंगलबार
  • १ः१९ दिउँसो

मुलुककै एकमात्र सरकारी कार्यालय पानीमाथि वडा कार्यालय, बोटिङको आनन्दसँगै सेवा प्रवाह

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०६:३१

७ माघ २०७८, काठमाडौँ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ। पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ। तिलोत्तमा नगरपालिकाले–११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो। कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ। त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ।

National Life

वडा कार्यालयको एक समारोहका बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन्। वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो। करिब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो। आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का समझौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदिप वनले जानकारी दिए।


यसले सेवा प्रवाह मात्र नभै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख वासुदेव घिमिरेले बताए। ‘अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्,’ उनले भने। वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकहरुको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा कार्यालय भवन निर्माण गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

‘कार्यालयमा आउने सेवाग्राहरूबाट आन्तरिक पर्यटनको पनि प्रवर्द्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङसमेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्‍याउँछ,’ उनले भने। – न्युज कारखाना

प्रतिकृया