राष्ट्रिय वाणिज्य बैंकद्वारा ३३ प्रतिशत लाभांश पारित
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ०९:३०
३० पुस २०७८ काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ।
यसपछि बैंकको कूल चुक्ता पूँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुने बैंकले जनाएको छ। साधारणसभाले बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष डा बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीतिनियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।
उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणास्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकको सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्ध रहिरहने बताए।
कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट शेयरधनीहरुको साधारणसभामा उपस्थिति रहेकोे थियो। साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनीहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो। बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।








प्रतिकृया