प्रहरीको निष्कर्ष : र्यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्रै
प्रकाशित मिति
२०७८ पुष १८ गते, आईतवार ०५:२३

१८ पुस २०७८, काठमाडौं : ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष रहेको छ । पुस १४ मा पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चितले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पोखरा घर भएका लाउरे लागु औषधको ‘युजर’ मात्रै भएको पत्ता लागेको छ ।
पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागु औषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनलाई लागु औषध प्रयोगकर्ताको मुद्दा चलाएमा लाउरेलाई १ वर्षसम्म कैद सजाय हुनसक्छ ।
कास्की एसपी रमेश थापाले आरोपीहरुबारे अनुसन्धान भइरहेको र अनुसन्धानको विषय भएको हुनाले थप कुरा भन्न नमिल्ने बताए ।
प्रतिकृया