• ३ असोज २०८३, शनिबार
  • ७ः०५ बेलुका

यथास्थितिमै एमसीसी पारित गर्न अमेरिकी दबाब रहस्यपूर्णः लीलामणि पोखरेल

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०१:२८

३ मंसिर २०७८ काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपाली कांग्रेसबाहेक गठबन्धनका सबै दल यथास्थितिमा पारित गर्न नहुने अडानमा रहेकाले एमसीसी फिर्ता गर्दा पनि आपत्ति नहुने बताएका छन् ।

National Life

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “सत्ता गठबन्धन सर्वोच्च अदालतको आदेश बमोजिम संसद्को पूर्णकार्यकालसम्म एक भएर जान तयार छ । एमसीसी यथास्थितिमा जान सक्दैन भन्नेमा नेपाली कांग्रेसबाहेक सबै दल एकमत छन् । अमेरिकाले एमसीसी फिर्ता लैजान्छ भने पनि हामीलाई आपत्ति छैन ।”


उनले एमसीसी राष्ट्रिय हित, र स्वाधीनताको प्रतिकूल रहेको उनले दोहोर्याए । उनले थपे, “प्रधानमन्त्रीले के भन्नुहुन्छ, के गर्नुहुन्छ भन्ने भन्दा पनि अहिलेको सरकार गठबन्धनको हो । प्रारम्भमा नै साझा न्यूनतम कार्यक्रम तोकिएको छ । त्यसैभित्र रहेर कार्य गर्नुपर्छ । राजनीतिक समन्वय समितिमा समझदारी नभईकन यस्त विवादित विषयमा कुनै पनि निर्णय अघि बढ्न सक्दैन ।”

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी प्रतिनिधिले नेपालमा आएर बरोबर एमसीसी पारित गर्ने धम्की दिनु रहस्यमय भएको आरोप पनि उनले लगाए । पोखरेलले भने, “पटकपटक अमेरिकी प्रतिनिधि यहाँ आउँछन् र संसद्बाट कार्यान्वयन गर्न दबाब दिन्छन्, र यो तिमीहरुको हितमा छ भन्छन्, त्यो नै रहस्यपूर्ण छ ।”


एससीसीमा सहमति जनाउनु भनेको अमेरिकी कानुनलाई स्वीकार्नु भएको उनले बताए । उनले भने, “ग्लासगोमा अमेरिकी प्रतिनिधिले प्रधानमन्त्रीलाई किन संसद् स्थगित गरिस् भन्नु नै नेपालको स्वाधीनतामाथि हस्तक्षेप हो । यो उपनिवेशवादी सोच हो ।”
आफूहरुलाई देशद्रोहको मुद्दा लगाएर थुन्नुपर्ने बताउने अरुणकुमार सुवेदीले मुलुकको स्वाभिमान र स्वाधीनता बिर्सेर अमेरिकाको खुलेआम दलाली गरिरहेको आरोप पनि उनले लगाए ।


अर्को प्रसंगमा नेता पोखरेलले आफ्नो निष्ठा, कार्यशैली र कामकारबाहीबारे प्रश्न उठेपछि नैतिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनु उचित हुने औंल्याए । उनले भने, “उहाँको कारण एक महिनादेखि सर्वोच्च अदालत ठप्प छ, न्याय सम्पादन नहुँदा सेवाग्राही अप्ठ्यारोमा परेका छन् । उहाँले महाभियोग नै पर्खेर राजीनामा दिनुभएन । अब दलहरुले पनि यसबारे बोल्नुपर्छ ।”

प्रतिकृया