चिकित्सा शिक्षा आयोगको नतिजा सच्याउन माग गर्दै ६० कलेज बन्द गरी साँचो बुझाईयो
प्रकाशित मिति
२०७८ भाद्र ८ गते, मंगलवार ०५:५०
८ भाद्र, २०७८ काठमाडौँ : चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढंगले कोटाभन्दा कम बिद्यार्थी उत्तीर्ण गराएको र बिद्यार्थी नपाएको भन्दै स्वास्थ्य बिज्ञान शिक्षालय संघ (एशिया) पुर्वाञ्चल बिश्वबिद्यालय सहित ३ संघसंगठनले आयोगलाई आफु मातहतका कलेजको साँचो बुझाएका छन् ।
एसियाका अध्यक्ष यामप्रसाद अधिकारी ,कलेज संघ त्रिभुवन बिश्वबिद्यालयका अध्यक्ष जीवन प्रकाश शर्मा र ओपन (पोखरा बिश्व बिद्यालय)का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले सानोठिमीस्थित आयोगका उपसचिब तथा सुचना अधिकारी सेमन्तराज कोईरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो बुझाएका हुन् ।
आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी अनुपस्थित भएपछि साँचो उपसचिब कोईरालालाई बुझाईएको एशियाका अध्यक्ष अधिकारीले बताउनुभयो । साँचो बुझ्दै आयोगका उपसचिब कोईरालाले आफू साँचो ग्रहण गर्ने माध्यम मात्र भएको बताउँदै उहाँहरुका माग आयोग नेतृत्व समक्ष पुराउने बताउनुभयो ।
आयोगका उपाध्यक्षलाई सम्बोधन गर्दै साँचो बुझिदिन लेखिएको ध्यानाकर्षणपत्रमा शैक्षिक सत्र २०७७/२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रबेश परीक्षामा बिभिन्न बिश्वबिद्यालयहरुले अपनाउने प्रबेश परीक्षाको विधि अनुसार न्युनतम ३५ प्रतिशत उतीर्ण ल्याएका बिद्यार्थीहरुलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा बिद्यार्थी भर्ना गर्ने ब्यबस्था मिलाउन माग गरिएको छ ।
यसैगरी कोभिड १९ को महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त सरकारी र निजी कलेजहरुमा सिट निर्धारण गर्दा सरकारी कलेजमा सिट यथावत राखी निजीको सिट शुन्य गरिएकोमा अबिलम्ब सिट निर्धारण गरिदिन अनुरोध गरेको छ ।
आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा संकाय अन्तरगतका उतीर्ण बिद्यार्थी सोही संकाय अन्तरगतका अन्य बिषयमा भर्ना हुने गरी कार्यविधिमा सच्याउन समेत माग गरिएको छ ।
एशियाका अध्यक्ष अधिकारीले स्वास्थ्य शिक्षातर्फका कलेजहरु चिकित्सा शिक्षा ऐन आएपछि बन्द हुने अबस्थामा पुगेको भन्दै निजीस्तरबाट संचालित कलेजमा बिद्यार्थी नदिई सुनियोजित ढंगबाट बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो । उहाँले शुल्क निर्धारण आयोगले गर्ने ,अनुगमन गर्ने ,सिट निर्धारण गर्ने तथा प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट संस्या पुग्ने गरी प्रवेश परीक्षामा बिद्यार्थी उतीर्ण नगराई सबै निजी कलेजमा बिद्यार्थी नदिई सुनियोजित ढंगबाट कलेज बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो ।









प्रतिकृया